काठमाडौं- नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नयाँ कीर्तिमान कायम गर्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०८२ सालको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम एकै महिनामा भित्रिएको अहिलेसम्मकै उच्चतम हो।
यसअघि २०८१ साल फागुनमा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन त्यसबेला कीर्तिमानी बनेको थियो। तर वैशाख महिनाको रेकर्डले उक्त कीर्तिमानसमेत तोडिदिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सो अवधिमा रेमिट्यान्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो।
२०८१ साल वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो। त्यही तुलनामा यसवर्षको वैशाखमा उल्लेख्य वृद्धि देखिएको हो। अमेरिकी डलरको हिसाबले हेर्दा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १४.८ प्रतिशत थियो। विशेषज्ञहरूका अनुसार पछिल्लो समय श्रमिक आप्रवासमा भएको वृद्धि, औपचारिक प्रणालीबाट पैसा पठाउने प्रवृत्तिमा आएको सुधार र प्रविधिको प्रयोग बढ्दै जानुले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको हो।