काठमाडौँ — अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिका द्वारा डिपोर्ट गरिएका ३२ पुरुष र ५ महिला नेपाली आइतबार मध्यराति काठमाडौँ आइपुगेका छन्। उनीहरूलाई ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स रहेको विशेष चार्टर फ्लाइटमार्फत फर्काइएको हो।
उक्त चार्टर विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकहरूलाई समेत फिर्ता पठाएको जनाइएको छ।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सम्हालेसँगै अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो तथ्याङ्कअनुसार आइतबारसम्म कुल १७७ जना नेपाली डिपोर्टमा परिसकेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेका नेपालीहरूसँग सोधपुछ गरेर थप सूचना संकलनको प्रक्रिया सुरु गरेको छ। ब्युरोका अनुसार उनीहरू कसरी अमेरिका पुगे, के कारणले डिपोर्टमा परे र यसमा संगठित मानव तस्करीको संलग्नता कति थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।
यसअघि पनि अमेरिकाबाट फिर्ता गरिएका नेपालीहरूसँग सोधपुछ गरी मानव तस्करीका सञ्जालबारे महत्त्वपूर्ण सूचना संकलन गरिएको थियो।