काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) विपक्षी दलहरूको बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा संसद् अवरोध हटाउने उपायबारे छलफल गर्न प्रचण्डले यो बैठकको आह्वान गरेका हुन्।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक आज मध्याह्न १२ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा संसद् अवरोधको कारण बनेको भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनलगायत विषयमा विपक्षी दलहरूको रणनीति तय गरिने बताइएको छ।
विपक्षी दलहरूले भिजिट भिसा काण्डमा गम्भीरता देखाउँदै छानबिन समिति गठनको माग गरिरहेका छन्। तर सत्तापक्ष हालसम्म उक्त मागप्रति सकारात्मक देखिएको छैन। यही विषयको प्रवेशसँगै प्रतिनिधि सभाको गत जेठ १३ गतेदेखि नियमित कार्यसूची अवरुद्ध भइरहेको छ। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुतिका क्रममा विपक्षी दलहरूले बैठक अवरोध गरेका थिएनन्। त्यसयता भने संसद्मा बजेटमाथिको छलफलसमेत हुन सकेको छैन।
यसैबीच, संसद् अवरोध अन्त्यका उपायबारे छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको थियो। उक्त भेटमा भएका संवादहरूको विवरण प्रचण्डले आजको विपक्षी दलहरूको बैठकमा ब्रिफिङ गर्ने कार्यक्रम छ।
आजको बैठकले संसद्को गतिरोध हटाउने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।