काठमाडौँ – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
गत जेठ १५ गते रातिबाट नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो, जसले अहिले कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार पाइसकेको छ।
आज दिउँसोको मौसम पूर्वानुमान अनुसार, कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ।
रातिको मौसम पनि आंशिक बदली रहने अनुमान गरिएको छ, विशेषतः कोशी र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा। ती क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना कायमै छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सम्भावित वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।