काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपमा कुनै आधार नरहेको दाबी गर्दै न्यायपालिका बाट न्याय पाइने विश्वास व्यक्त गरेका छन्। मधेश प्रदेश सम्पर्क समितिको पहिलो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, “सबै गलत आरोपहरूका विरुद्ध दृढतापूर्वक उभिनेछु। मलाई विश्वास छ – न्यायको जित हुनेछ, अन्यायको हार हुनेछ।”
नेपालले आफूले कहिल्यै एक पैसा वा एक दाम घुस नलिएको दाबी गर्दै भने, “डराउनु पर्ने कुनै आवश्यक छैन। हामी आत्तिनु पर्ने अवस्था छैन। चुनौती आएको हो, यसको सामना गर्नुपर्छ।”
पूर्वप्रधानमन्त्री नेपाललाई गत बिहीबार पतञ्जलि आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दामा भूमिसम्बन्धी निर्णय प्रक्रियामा गरिएको अनुचित प्रभाव, सिफारिस र त्यसबाट हुने फाइदामा नेपालको संलग्नता रहेको आरोप लगाइएको छ।
तर नेपालले उक्त मुद्दालाई राजनीतिक पूर्वाग्रहसहित दर्ता गरिएको दाबी गर्दै, “हामीले कुनैपनि निर्णय व्यक्तिगत लाभ वा स्वार्थका लागि गरेका छैनौँ। सबै काम राष्ट्र र जनताको हितका लागि गरिएको हो,” भने।
उनले अझ थपे, “असल मनसायका साथ काम गरिएको छ भने आत्तिनु पर्ने केही हुँदैन। भाग्ने होइन, सामना गर्ने हो।”
नेपालको यस्तो प्रतिक्रिया सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा त्यसको असर र बहस सुरु भएको छ। उनका समर्थकहरूले यसलाई पूर्वप्रधानमन्त्रीलाई कमजोर पार्ने प्रयासका रूपमा चित्रण गरिरहेका छन् भने, विपक्षीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।