काठमाण्डौ – संसदमा देखिएको गतिरोध अन्त्य गर्दै आईतबारदेखि संसद् पुनः सञ्चालन हुने संकेत सभामुख देवराज घिमिरेले दिनुभएको छ। सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढ्दै गएकाले संसदलाई गतिशील बनाउने सहमति नजिकिएको सभामुखको भनाइ छ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घिमिरेले भने, “हामी संसद् सुचारु गर्न निष्कर्षमा पुग्दैछौँ। निश्चय पनि शीर्ष तहका नेताहरूबीच छलफलपछि संसद् गतिरोध अन्त्य हुनेछ।” उनले संसदीय व्यवस्थामै आघात पुर्याउने शक्तिहरू सक्रिय हुन थालेको भन्दै यस्तो संवेदनशील समयमा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
सभामुख घिमिरेले भने, “यो व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ गरिरहेका छन्। प्रतिगामी शक्तिहरू सल्बलिएको बेला संसद् प्रभावकारी बनाउन सबै दलले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ।”
संसद अवरुद्ध हुनुको मुख्य कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा अनियमितता र त्यससम्बन्धी गृहमन्त्रीको राजीनामाको माग रहँदै आएको छ। प्रतिपक्षी दलहरू आफ्नो मागबाट पछि हट्न नचाहँदा संसद् थलिएको थियो। तर पछिल्लो दिनमा सत्तारूढ र विपक्षी दलका नेताबीच संवाद पुनः सुरु भएको छ, जसले संसद् सुचारु गराउने सहमतिलाई सहज बनाएको बताइएको छ।
स्रोतका अनुसार, आइतबारको बैठक अघि सत्ता–प्रतिपक्षका शीर्ष नेताहरूबीच फेरि छलफल हुनेछ। सभामुख घिमिरेले यस्ता संवाद र सहकार्यले संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरेका छन्।