सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीको घटनाबारे गृहमन्त्री लेखक सशस्त्र हेडक्वार्टरमा

काठमाडौं, २२ जेठ — सप्तकोशीमा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेका छन्।
शुक्रबार बिहान सिंहदरबारबाट निस्केका मन्त्री लेखकसँगै प्रतिनिधि सभाको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासमेत सशस्त्र प्रहरी हेडक्वार्टर पुगेका हुन्।

हाल सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी) राजु अर्याल विदेशमा रहेकाले गृहमन्त्री लेखकले कार्यवाहक संगठन प्रमुख एआइजी नारायणदत्त पौडेलबाट घटनाबारे ब्रिफिङ लिनेछन्।

बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारी अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

हरदेवको शव फेला, सुरजको खोजी जारी

शुक्रबार बिहान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। अर्का जवान सुरज साउदको खोजी कार्य जारी रहेको उनले बताए।

बेपत्ता दुवै जनाले २०८० र २०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए र त्यसयता विभिन्न उद्धार कार्यमा खटिँदै आएका थिए।

तीव्र रूपमा खोजी कार्य जारी

बेपत्ताको खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको नेतृत्वमा चार जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्त २० जना सुरक्षाकर्मी परिचालित छन्।
त्यसैगरी थप सहयोगका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच जना अनुभवी गोताखोर बिहीबार राति नै घटनास्थल पठाइएको थापाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्