कोरोना भाइरस निर्मुल हुने संभावना न्यून रहेकाले सावधानी अपनाउन डब्लुएचओको पुनः अपिल

काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड–१९ को अस्तित्व सधै रहिरहने भन्दै सचेतताका लागि पुनः अपिल गरेको छ ।

भाइरस र यसको संक्रमण निर्मूल हुने संभावना न्यून रहेकोले हेलचेक्र्याईं नगर्न पनि उसले सचेत बनाएको छ । स्वास्थ्य संगठनका आपतकालिन निर्देशक माइक राइनले कोरोनालाई एच.आइ.भीको भाइरस सरह नै भन्दै कोरोना भाइरसको समाप्तिका विषयमा गरिएका हल्लाहरुमा विश्वास नगर्न भनेका छन् ।

उनले खोप पत्ता लागेपछि पनि भाइरसको पूर्ण नियन्त्रण निकै कठिन हुने बताएका छन् । हालसम्म विश्वभर झण्डै ३ लाख मानिसको मृत्यु भइसकेको र ४३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेको अवस्थामा कोरोना भाइरस मानव समुदायमा ठूलो प्रकोप बनिरहेको र यो कहिल्यै पनि समाप्त नहुन सक्ने उनले बताए ।

तर सबैको प्रयास भएमा यसलाई नियन्त्रण गर्न सकिने भएकाले महामारी विरुद्ध सबै एक जुट हुन विश्व स्वास्थ्य संगठनको आव्हान छ । कोरोना भाइरसको संक्रमणबाट युरोप र अमेरिकाका विकसित मुलुकहरु नै सबैभन्दा प्रभावित छन् ।

विश्वमा संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ । अमेरिकामा हालसम्म ८४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १३ लाख ८८ हजारभन्दा बढी संक्रमित छन् । पछिल्लो समय एसियाली मुलुकहरुमा पनि संक्रमण तीब्र गतिमा बढिरहेको छ । दक्षिण एसियाली मुलुक पाकिस्तानमा एकै दिनमा २ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्