संघीय सरकारले पठाएका चिकित्सक बैतडीबाट २२ दिनपछि फर्किए

File Photo

बैतडी – कोरोनाको उपचार सहयोग पु–याउनका लागि सङ्घीय सरकारले बैतडीमा पठाएका तीन चिकित्सक २२ दिनपछि मङ्गलबार फिर्ता भएका छन् । सङ्घीय सरकारले ३३ चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते तीन चिकित्सक बैतडी पुगेका थिए ।

इन्टरनल मेडिसिन डा विकास साहनी, डा डिभान्स शाह र अर्थोपेडिक डा प्रकाश दर्जी बैतडीबाट फिर्ता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । बाईस दिनसम्म जिल्ला अस्पतालमा बसेर उनीहरुले कोरोनासम्बन्धी सचेतनाका साथै अन्य सेवा दिएको डा जोशीको भनाइ छ ।

चिकित्सक जिल्लामा रहँदा लकडाउनका बेला धेरै नागरिक समस्यामा परेका र उनीहरुलाई सेवा दिन सहज भएको डा जोशीले बताए । “मधुमेह, हड्डी भाँच्चिएको लगायतका सेवा दिनुभयो”, उनले भने, “सामान्य समस्या पर्दा पनि बाहिर पठाउनुपथ्र्यो, उहाँ जिल्लामा हुँदा निकै सहज भयो ।”

सुदूरपश्चिममा यसअघि पाँच जनामा कोरोना सङ्क्रमण देखिएको भए पनि सबै उपचारपछि घर पर्किसकेका छन् । सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण देखा परेपछि सङ्घीय सरकारले यहाँ चिकित्सक पठाएको हो । जिल्ला अस्पताल बैतडीमा तीन चिकित्सकको दरबन्दी भए पनि अहिले दरबन्दीका एक जना पनि कार्यरत छैनन् । करारका दुईमध्ये एक जनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा जोशीले बताए ।

जिल्ला अस्पतालमा एक नवौँ तह र दुई आठौँ तहका चिकित्सकको दरबन्दी भएपनि ती सबै दरबन्दी खाली छन् । जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या हुँदै आएको छ । गएको सात महिनायता जिल्ला अस्पताल दरबन्दीका चिकित्सकविहीन बनेको हो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्