काठमाडौँ – काठमाडौँको तीनकुनेमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना कोटेश्वरबाट बानेश्वरतर्फ गइरहेको बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिएपछि भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडिको सीटमा सवार थिइन्।
दुर्घटनामा घाइते हुनेहरूमा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापा मगर, भ्यान चालक काभ्रेको मण्डनदेवपुर घर भई हाल शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्की, र बसमा सवार दोलखा घर भएकी २४ वर्षीया मेनुका बुढाथोकी छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना बिहान ६:३५ बजे घटेको हो। कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बस (चालक ५९ वर्षीय राम कुमार खड्का) ले अगाडि गइरहेका बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकसहित भ्यान र मोटरसाइकललाई बानेश्वर प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने बसलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको नियन्त्रणमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।