पाँचपोखरी थाङपालमा मनसुन पूर्वतयारी कार्यशाला सम्पन्न

सिन्धुपाल्चोक– मनसुनको समयमा संभावित प्राकृतिक विपद्‌बाट हुन सक्ने क्षति न्यूनिकरण गर्न उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

प्राक्टिकल एक्सन र स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) को सहकार्यमा आयोजित कार्यशालामा गाउँपालिका अध्यक्ष टासी लामा, वडाध्यक्षहरू, सरकारी अधिकारी, विपद् विज्ञ, तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्राक्टिकल एक्सनकी बिना खड्काले गरिन्। उनले विगतका सफल सहकार्यहरूको चर्चा गर्दै समयमै तयारी गर्दा जनधनको क्षति कम गर्न सकिने धारणा व्यक्त गरिन् ।गाउँपालिका अध्यक्ष लामाले पाँचपोखरी थाङपालमा पछिल्ला वर्षहरूमा दोहोरिरहने बाढी र पहिरोले गम्भीर अवस्था सिर्जना गरिरहेको बताउँदै २०३९ सालको पहिरो र २०७८ सालको बाढी–पहिरोले ठूलो क्षति पु-याएको जानकारी दिए। उनका अनुसार २ हजार रोपनीभन्दा बढी उब्जाउ जमिन नष्ट हुनुका साथै २१७ घरधुरी क्षतिग्रस्त भएका थिए।

कार्यशालामा मेलम्ची–भोताङ सडकको जीर्ण अवस्थाले खाद्य असुरक्षा, स्वास्थ्य सेवा अभाव र अत्यधिक मूल्यवृद्धि ल्याएको विषयमा समेत छलफल गरिएको थियो। खाल्डे खोला सडक आयोजनाको काम समयमा सम्पन्न नहुँदा हाल मुद्दाको प्रक्रियामा पुगेको जानकारी दिइयो। वडाध्यक्षहरूका अनुसार स्रोत अभावका बाबजुद उद्योगीका टिपर प्रयोग गरेर सडक मर्मत कार्य भइरहेकै छ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका सरोज पुडासैनीले मौसम पूर्वानुमानलाई ‘जीवनरक्षात्मक उपकरण’को संज्ञा दिए । सहभागीहरूले विकास साझेदारहरूबीच समन्वयको कमी र ‘सफ्टवेयरमुखी’ परियोजनाको आलोचना गरे। नेपाल रेडक्रसको न्यूनतम राहतको प्रशंसा गरिए पनि नगद राहत कार्यक्रमको अभाव रहेको जनाइएको थियो।

कार्यशालाबाट मेलम्ची–भोताङ सडकलाई चार खण्डमा विभाजन गरी मर्मत कार्य अघि बढाउने, जोखिमयुक्त स्थानहरूमा उपभोक्ता समितिमार्फत ढुंगा हटाउने, वैकल्पिक पहुँच मार्गको सम्भाव्यता अध्ययन गर्ने र विगतका प्रयासको समीक्षा गरी सुधारात्मक योजना बनाउने निर्णय गरिएको विपद् फोकल पर्सन नारायण क्षेत्रीले जानकारी दिए । प्रशिक्षक डा. राजु थापाले २०८१ को मनसुनी क्षतिको विवरण प्रस्तुत गर्दै उच्च जोखिम क्षेत्रहरूको पहिचानमा वैज्ञानिक अध्ययनको आवश्यकता औंल्याए । नवीन दाहालले योजना ढाँचा स्पष्ट गरेपछि सहभागीहरूले समूह छलफल गरी स्थानविशेष सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष लामाले विपद् व्यवस्थापन राजनीतिभन्दा माथि उठेर गर्नुपर्नेमा जोड दिँदै सबै सरोकारवालालाई समन्वयमा काम गर्न आह्वान गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्