भीम रावलको प्रश्नः विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? मन्त्रीले भने गुगल हेर्दा भेटिन्छ !

काठमाडौं – भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।

परराष्ट्रमन्त्री बोल्दाबोल्दै नेकपाका सांसद भीम रावलले दुई प्रश्न गरे– एउटा, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीको हस्ताक्षर किन आउँदैन ? अर्को, बैठकमा मन्त्रीले आउँदिन भन्न मिल्छ ?

‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्र (मन्त्रालय) ले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ सांसद रावलले एकैपटक दुई प्रश्न गरे ।

भारतले लिपुलेकमा सडक बनाएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको हस्ताक्षर नभएको विषय उनले उठाएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले जवाफ दिदै भने गुगल हेर्दा पनि भेटिन्छ ।

हस्ताक्षर किन आउँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय अभ्यास हेर्न रावललाई सुझाव दिए । ‘डिप्लोमेटिक स्टेटमेन्ट, करेस्पोन्डेन्ट एक पटक हेरिदिनुभयो भने यो प्रश्न उठ्दैन’ उनले भने ‘त्यही वक्तव्यका आधारमा भारतले वक्तव्य दिइसक्यो । हामी यसलाई बेबारिस भन्छौं ।’

यसबारे अन्न्तर्रा्ष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए । ‘अन्तर्रा्ष्ट्रिय अभ्यासहरु के छन् यो त सजिलै हेर्न सकिन्छ होला नि, अघि केही साथीले मलाई गुगल हेर्न सुझाउनुभयो । गगुल हेर्दा पनि भेटिन्छ होला नि’ उनले जवाफ दिए ।

परराष्ट्र मन्त्रालयको वक्तव्य उच्च तहको राजनीतिक नेतृत्वको स्वामित्वमा जारी हुने मन्त्री ज्ञवालीले बताए । ‘टपमस्ट पोलिटिकल लिडरसिपको अनरसिपमा जारी हुने वक्तव्य हो त्यो, परराष्ट्रको प्रवक्ताको, सचिवको वा साउथ एसिया हेर्ने डिभिजनको वक्तव्य होइन’ उनले भने । समितिमा किन नआउने भन्ने प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले अरु समितिहरुले बोलाएका कारण समय तालमेल मिलाएर मात्र अन्तर्रा्ष्ट्रिय समितिको बैठकमा आउने बताए । ‘अरु समितिहरुले पनि बोलाइरहनुभएको छ, समितिहरुको बैठकहरुबीचमा तालमेल मिलाएर म नआउने भन्ने प्रश्नै भएन’ उनले भने । आफूले व्यक्तिगत कामका लागि समय नदिएको भन्न नमिल्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्