काठमाडौं – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा (पीएसटी) बैठक आगामी चैत्र १ र २ गते भक्तपुरको नगरकोटस्थित होटल मेरिगोल्डमा हुने भएको छ। उक्त बैठकमा काठमाडौं जिल्ला समिति तथा सातवटै नगर कमिटीका अध्यक्ष, सचिव, र कोषाध्यक्षहरूको उपस्थिति रहनेछ।
बैठकमा आगामी शैक्षिक सत्रका लागि शैक्षिक क्यालेन्डर तयार पार्ने, पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, विद्यालय प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तय गर्ने लगायतका विषयमा विस्तृत छलफल गरिनेछ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका पदाधिकारीहरूका अनुसार बैठकले निजी विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, संगठनात्मक सुदृढीकरण तथा नीति निर्माण प्रक्रियामा ठोस निर्णय गर्ने लक्ष्य लिएको छ।
साथै, हाल विद्यालयहरू सामाना गरिरहेका विभिन्न चुनौतीहरूको समाधानका उपायहरूबारे समेत गम्भीर समीक्षा गरिनेछ। बैठक सफल बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। बैठकबाट आउने निर्णयहरूले आगामी शैक्षिक सत्रलाई व्यवस्थित बनाउने तथा निजी विद्यालयहरूबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।