काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान गरेका हुन्।
उनले केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा ३.४० सिजिपिए ल्याएर प्रथम भएका भट्टले आफ्नो मेहनत, परिवार, विद्यालय, तथा समाजको योगदानले आफूलाई उत्कृष्ट बन्न प्रेरित गरेको बताए।
पदमराज भट्टले बाल्यकालमा गाउँकै सिद्धनाथ आधारभूत विद्यालयबाट कक्षा ५, त्यसपछि सरस्वती माविबाट ६–८ कक्षा, रौलेश्वर माविबाट ९–१२ कक्षा उत्तीर्ण गरे। उच्च शिक्षा अध्ययनका लागि उनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस रोजे।
कक्षा १२ उत्तीर्ण गरेपछि भट्ट रोजगारीको खोजीमा भारत गएका थिए। तर, उच्च शिक्षा हासिल गर्ने दृढ संकल्पले उनलाई पुनः अध्ययनतर्फ मोडियो। अहिले उनी सरस्वती माविमा शिक्षण पेशामा कार्यरत छन्।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि स्वर्ण पदक प्रदान गरिएको थियो। भाईस चान्सलर स्कुल अफ एग्रिकल्चर, टीकापुरकी कुसुम तिमिल्सिनाले स्नातक तहमा ३.९३ जिपिए ल्याएर पदक प्राप्त गरिन्।
स्वर्ण पदक प्राप्त गर्ने अन्य विद्यार्थीहरूमा कैलाली बहुमुखी क्याम्पसका उमेश कुमार विष्ट र गंगादत्त जोशी, दार्चुला बहुमुखी क्याम्पसकी चाँदनी कुँवर, केन्द्रीय क्याम्पसका नवराज पन्त, दिपेन्द्र प्रसाद पाण्डेय, देवेन्द्र सिंह ठगुन्ना, श्रव्यराज पण्डित रहेका छन् ।
यस वर्षको दीक्षान्त समारोहमा १,३७७ विद्यार्थी दीक्षित भएपनि ३७१ जना मात्र कार्यक्रममा सहभागी भएका थिए। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तका अनुसार विश्वविद्यालय अहिले १४औं वर्षमा प्रवेश गर्दै ९ संकायमा अध्ययन गराइरहेको छ। उनले आगामी दिनमा आविष्कार केन्द्र स्थापना गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर अझ सुधार गर्ने योजना रहेको बताए।
पदमराज भट्टको सफलता मेहनत, लगनशीलता, र निरन्तर प्रयासको नतिजा हो। कृषक परिवारमा जन्मिएर पनि उच्च शिक्षा हासिल गर्दै विश्वविद्यालयका टपर विद्यार्थी बन्नु अन्य विद्यार्थीहरूका लागि प्रेरणादायक छ। उच्च शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने सुदूरपश्चिम विश्वविद्यालयको प्रयास सराहनीय छ।