राजसंस्थाको रन्को : असन्तुष्टिका प्रवृत्तिहरू र सुधारको बाटो

नेपालमा पुनः राजसंस्थाको पुनर्स्थापनाको बहस एकपटक फेरि सतहमा आएको छ। गणतन्त्रको यात्राले ठोस उपलब्धि दिन नसकेको महसुस गर्ने केही समूहहरू, विभिन्न कारणले राजतन्त्र फर्काउने नारासहित सक्रिय देखिएका छन्। तर, यी अभियानहरूलाई नजिकबाट नियाल्दा, तीनवटा प्रमुख प्रवृत्तिहरू स्पष्ट देख्न सकिन्छ ।

१. सुविधावादीहरूको छटपटी : गुमेको हैसियत फिर्ता ल्याउने प्रयास

यी सुविधावादीहरु पहिलो समूहमा पर्दछन् ।  यिनीहरुले राजसंस्थाको छत्रछायाँमा बसेर विशेषाधिकारको उपभोग गर्दै आएका थिए। राजाको नजिक रहेर उनीहरूले राज्यस्रोतमा पहुँच बनाएका थिए ।  शक्ति केन्द्रहरूमाथि नियन्त्रण राखेका थिए र आफ्ना स्वार्थ पूरा गरेका थिए, तर गणतन्त्र आएपछि उनीहरूको शक्ति, हैसियत, र अवसर गुम्यो। उनीहरूको छटपटीको कारण राजसंस्था प्रतिको प्रेम होइन, आफ्नो गुमेको विशेषाधिकार फर्काउने प्रयास मात्र हो।

२. सत्ताकांक्षी असन्तुष्टहरू : चुनावी असफलता र कुण्ठाबाट जन्मिएको आन्दोलन

सत्ताका‌ंक्षी असन्तुष्ट राजनीतिक पात्रहरु  दोस्रो समूहमा छन्, जो निरन्तर जनताको मतबाट अस्वीकृत भइरहेका छन्। नेताका रूपमा आफूलाई प्रमाणित गर्न नसकेका, चुनावमा हार बेहोरिरहेका, वा आफ्नै दलभित्र प्रभावहीन भएका यस्ता पात्रहरू राजसंस्थाको नारालाई एउटा ‘सर्टकट’ को रूपमा प्रयोग गरिरहेका छन्। उनीहरूको मुख्य लक्ष्य राजतन्त्र होइन, बरु राजसंस्थाको नाम भजाएर आफूलाई सत्तामा पुर्‍याउने हो। गणतन्त्रको नेतृत्व असफल देखिए पनि, तिनको विकल्प फेरि निरंकुशताको अँगालोमा जानु कदापि होइन।

३. अन्याय र अस्थिरताबाट वाक्क निर्दोष युवा : सुधार खोजिरहेका तर दिशाहीन पीढी

अन्याय र अस्थिरताबाट वाक्क निर्दोष र देशप्रति साँचो चिन्ता राख्ने युवा तेस्रो समूहमा  छन्। उनीहरू नेताहरूको अनैतिकता, भ्रष्टाचार, अवसरवाद, र अकर्मण्यताबाट आजित छन्। तर, निराशाको घडीमा उनीहरूले सोच्नुपर्ने कुरा के हो भने—राजसंस्था कुनै जादुको  छडी होइन, जसले मुलुकको सबै समस्या एकैचोटि समाधान गरिदिन्छ। राजा फर्काएर समृद्धि आउँछ भन्ने विश्वास केवल एउटा भावनात्मक प्रतिक्रिया मात्र हो। उनीहरू गणतन्त्रका नेतृत्वदायी पात्रहरूलाई नियाल्छन्, र तीमध्ये अधिकांश असफल देख्छन्। परिणामस्वरूप, ‘यो भन्दा त राजा नै राम्रो’ भन्ने सोच पलाउँछ। तर, यी युवाहरूको समस्या गणतन्त्र होइन, गणतन्त्रलाई असफल बनाउने गलत नेतृत्व हो। उनीहरू निराश छन्, तर समाधान भने इतिहासतर्फ फर्कनु होइन।

व्यवस्थाको समस्या होइन, नेतृत्वको कमजोरी

गणतन्त्रमा विकृति छ, अस्थिरता छ, भ्रष्टाचार छ। तर, यसको सबल पक्ष के हो भने—यसमा सुधार सम्भव छ। असफल नेतृत्वलाई हटाएर नयाँ नेतृत्व चयन गर्न सकिन्छ। कुनै एक व्यक्ति, परिवार, वा वंशले शासन गर्ने प्रणालीभन्दा जनताले आफ्नो नेता आफैं छान्ने प्रणाली बढी व्यावहारिक र न्यायोचित हो।

नेपाललाई स्थायित्व र समृद्धि ल्याउने बाटो इतिहासतर्फ फर्कने होइन, बरु भविष्यका लागि सुधार गर्दै अघि बढ्ने हो। यदि समस्या नेतृत्वमा छ भने समाधान व्यवस्थाको परिवर्तन होइन, सही नेतृत्वको छनोट हो।

गणतन्त्रलाई बलियो बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, जनउत्तरदायी नेतृत्व विकास गर्ने, र जवाफदेहितालाई संस्थागत गर्ने दिशामा लाग्न सकेमा, लोकतन्त्र नै नेपाललाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्षम हुनेछ। त्यसैले, विगततर्फ फर्कने बहस होइन, सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता नै अहिलेको आवश्यकता हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्