सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

काठमाडाैँ – भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका, मकैसिंग पोखरीका स्थायी बासिन्दा हुन् । उनी हाल जापानमा बस्दै आएका छन् । वि.सं. २०७० सालमा पढाइको लागि जापान गएका उनी सानै देखि सहयोगी भावनाका थिए । उनले जापानमा गएर पढाई सँगसँगै काम पनि गर्न थाले । आफ्नो लागि सबै खर्च आफै जुटाउन विदेशमा त्यति सजिलो थिएन तर पनि परोपकारी भावनाका श्रेष्ठले समाज सेवालाई पनि निरन्तरता दिए । उनले नेपालस्थित आफ्नै गाउँमा करिब १० लाखको व्यक्तिगत खर्चमा मन्दिर बनाए ।

त्यतिमात्रै हैन मकैसिंग भीरबाट मान्छेहरु आवतजावत गर्न निकै गाह्रो हुन्थ्यो उनले त्यो भीरमा मानिसहरु सहजै हिड्न सक्ने गरि आफ्नै लगानीमा बाटो बनाइदिए । जसले त्यहाँका स्थानीयहरुलाई आवत जावत गर्न निकै सजिलो भएको छ । स्थानीय समेत खुसी भएका छन् । गाउँमा सेवा गर्न पाउँदा गाउँलेहरु भन्दा धेरै खुसी भएका छन् रविन श्रेष्ठ । उनी भन्छन् “थोरै भएपनि आफु जन्मेको गाउँमा सेवा गर्न पाउँदा निकै खुसी छु, सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र ? यो त मेरो लागि सौभाग्यको कुरा हो ।” यति मात्रै हैन परोपकारी भावनाका श्रेष्ठले गाउँमा अरुपनि थुप्रै काम गरेका छन् । उनले गाईवस्तुले पानी खाने पुरानो पोखरी निर्माणको लागि ५० हजार सहयोग गरे । कोरोनाको माहामारीका कारण विश्व त्राहिमान बनिरहेका बेला काठमाडौको तारकेश्वर नगरपालिकाका ५८ घर परिवारलाई राहत वितरण गरे जापानमा बसेर पनि ।

२ वटा बालआश्रममा कोरोनाको महामारीकै बेला आर्थिक सहयोग गरे । एक जना ब्लड क्यान्सका विरामीलाई पनि आर्थिक सहयोग गरेका छन् भने एसिड आक्रमणको विरामीलाई पनि आर्थिक सहयोग गरे । बलात्कार पछि हत्या भएको परिवारलाई पनि श्रेष्ठले आर्थिक सहयोग गरेका छन् भने उनकै गाउँ गोरखाका २ जना विरामीलाई पनि आर्थिक सहयोग गरे । श्रेष्ठले जापनमा बसेर कोरोना महामारीको बेला मात्रै नेपालमा विभिन्न समस्या परेकाहरुलाई ३ लाख भन्दा बढीको सहयोग गरेको बताएका छन् । यति मात्र हैन उनले जापानमा पनि विरामीहरुलाई अनि सहयोगको आवश्यकता परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनी भन्छन् “देवता खोज्न मन्दिरमा जानु पर्दैन, देवताहरु हाम्रो वरपर नै छन् तर चिन्न सक्नुपर्छ ।” आगामी दिनहरुमा सामाजिक कार्यमा सक्रिय भएर लाग्ने श्रेष्ठको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्