१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए, जेठ १५ सम्म विद्यार्थीको हातमा पुग्ने

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ ।

केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ । सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो । हाल केन्द्रका दुईवटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको कामसमेत गरिएको जनाइएको छ ।
प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ । अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पु¥याउने केन्द्रको योजना छ ।
बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पु¥याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ ।

ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ ।
मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिएको जनाइएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ । यो समाचार शेषकान्त पण्डितले गोरखापत्रअनलाइनमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्