कोरोना भाइरस सम्बन्धि औषधिको क्लिनिकल ट्रायलमा नेपाल पनि सहभागि

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने भएको हो ।

अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड–१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्ल्यूएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको हो । यो तेस्रो चरणको क्लिनिकल ट्रायल हो ।

एक सयभन्दा बढी देशले ऐक्यबद्धता जनाइसकेको उक्त क्लिनिकल ट्रायल अभियानमा नेपाल सरकारले पनि सहभागिता जनाउने निश्चित गरेको हो । नेपालबाट कति जना ट्रायलमा सहभागी हुने भन्ने निर्धारण डब्ल्यूएचओले गर्ने राष्ट्रिय जनस्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । यो क्लिनिकल ट्रायलमा विश्वभरका एक हजार मानिस सहभागी हुनेछन् । डा. ज्ञवालीका अनुसार डब्ल्यूएचओले नेपालमा पनि ती औषधिको प्रभावकारिता परीक्षण गरिदिन परिषद्सँग अनुरोध गरेको थियो । परिषद्ले विज्ञ टोली बनाएर सो एन्टिभाइरलका विषयमा अध्ययन गरी मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेको थियो ।

सोही कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएको हो । अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवाली डब्ल्यूएचओले आह्वान गरेको क्लिनिक ट्रायल अभियानअनुसार नेपालमा कोभिड–१९ का संक्रमितहरूमा औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको बताउँछन् । उनी भन्छन्, ‘कोभिड–१९ विरुद्धको खोप तथा औषधिको प्रभावकारिता परीक्षण गर्ने तयारी भर्खर सकियो, परीक्षणपछि आएको नतिजा हामी जानकारी गराउँछौं ।’

क्लिनिकल ट्रायलका लागि स्वीकृत भएका चार औषधिहरू

– रेम्डेसिभर

– क्लोरोक्विन हाइड्रोअक्साइड

– लोपिनाभिरररिटोनाभिर

– लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा

स्रोतः अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्