दशगजा क्षेत्रमा झण्डै २५ सय नेपाली अलपत्रः भारत भन्छ स्वदेश जा, नेपाल प्रहरी भन्छ माथिको आदेश छैन

रुपन्देही – भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । रोजगारीको लागि भारत पसेका उनीहरु स्वदेश फर्किने क्रममा लकडाउनमा परेर भारततर्फ नै रोकिएका हुन्, तर २४ दिन भारतीय क्वारेन्टाइनमा बसेका उनीहरु अझै स्वदेश फर्किन पाएका छैनन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय बढी नेपाली नौतनवामा रोकिएका छन् । उनीहरुमध्ये धेरैजसोले नौतनवाको क्वारेन्टाइनमा २४ दिनको बसाई पूरा गरेका छन् ।

यस्तै कपिलवस्तुका मर्यादपुर, चाकरचौडा, कृष्णनगर र हर्दौना लगायतका नाकामा स्वदेश फर्कनुपर्ने झण्डै एक हजार नेपाली चार दिनदेखि अलपत्र परेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा अलपत्र परेकाहरु भारतीय भूमिमा टेन्टमुनि असुरक्षित तरिकाले रात गुजारिरहेका छन् । कतिपय भने लुकिछिपी नेपाल भित्रिरहेका छन् ।

भारतीय पक्षले क्वारेन्टाइन बसाई पूरा गरेका नेपालीहरुलाई स्वदेश जान दवाब दिएको र आफूहरुलाई घर फर्कन वातावरण बनाइदिन हारगुहार गरेको बेलहियाका समाजसेवी लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले बताए ।

नेपालीहरु घर फर्कन चाहेका र समस्यामा परेका गुनासो आएका छन् तर दुबै देशका सरकार तहबाट निर्णय नभएसम्म आफूहरुले नेपाल प्रवेश गर्न दिन नमिल्ने प्रहरीको भनाइ छ । लुकिछिपी नेपाल फर्कन खोजेर सीमासम्म आउने नेपालीलाई भारतीय प्रहरीसंग समन्वय गरी पुनः क्वारेन्टाइनमा पठाउनुबाहेक अरु विकल्प आफूहरुसंग नभएको प्रहरी बताउँछन् ।

भारतका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई विभिन्न स्थानमा भारतीय पक्षले ‘हामी पाल्न सक्दैनौं,आफ्नो देश जाऊ’ भनेर दुर्व्यवहार समेत गर्न थालेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले समेत सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नागरिकलाई सुरक्षित तरिकाले स्वदेश आउने वातावरण बनाउन माग गरेका छन् ।

 

तस्विर : दीलिप यादव 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्