भिसा समाप्त भएका विदेशी कामदारलाई एमओसी सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन

काठमाडौँ — मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।

मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने बताए । ‘यो आममाफी होइन’,उनले भने,‘जनवरी १ यताका भिसाको म्याद सकेका कामदारलाई मात्रै स्वदेश फिर्नको लागि सहजीकरण गरिदिएको हो ।’ उनका अनुसार भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार छ । दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।

एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ । –कान्तिपुर 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्