लकडाउनका कारण बैशाखमा भन्सार कार्यालयमा राजस्व संकलन शुन्य

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए ।
लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ ।

उद्योग कलकारखाना प्रभावित

बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन् । कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन् । जिल्लामा साना, मम्झौला र ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको छ ।

जिल्लामा बन्दाबन्दीबाट निजी क्षेत्र पनि निकै प्रभावित बनेको छ । सरकारले निजी क्षेत्रलाई बैंकको व्याज छुटलगायत विशेष प्याकेज व्यवस्थापन गर्नुपर्ने संघका अध्यक्ष केशवप्रसाद भण्डारीले बताए । जिल्लामा खाद्यान्नबाहेक अन्य सिमेन्ट र स्टिल उद्योग केही सीमित सञ्चालनमा रहे पनि त्यसबाहेकका अधिकांश उद्योग बन्द छन् । पश्चिम नवलपरासीमा सात ठला, ३६ मम्झौला र ८० घरेलु तथा साना उद्योग व्यवसाय छन् । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्