सामाजिक दुरी कायम गरि आज देशभर २५६४ औँ बुद्धजयन्ती मनाइदै, यस्तो छ गौतम बुद्धको इतिहास !

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।
आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभयो ।

बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो । विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुध्द जयन्तीका अबसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्