विराटनगर, १९ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् ।
बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
नेपालबाट बंगलादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न नसकेको गुनासो स्थानियले गर्दै आएका छन ।
दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’को अवस्था सिर्जना हुनुका साथै नेपालमा उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ । प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दुध डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दुध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दुधको भूक्तानी दिन सकेका छैनन् । किसानले दुधको भुक्तानी नपाउँदा बिच्चलीमा परेका छन् ।
विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे । उनले एकातिर किसानले दुध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि नै दुधको भुक्तानी दिन नसकेको सुनाए ।
मुख्यमन्त्री कार्कीले बंगलादेशका लागि नेपाली राजदुत भण्डारीलाई दुग्धजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
फोन संवादमा राजदुत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् । मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादकसहितको टोली बंगलादेश गएर भए पनि दुग्धजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्