काठमाडौँ – नेकपा एमालेकी सांसद सुनिता बरालले हवाई टिकटको मूल्यवृद्धि फिर्ता लिन माग गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘आज पर्यटक क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा वृद्धि गरेको छ । यो कही नभएको हवाई टिकटमा मूल्यवृद्धि गर्ने कुरालाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटकीय क्षेत्रलाई समृद्धिको आधार निर्माण गर्ने कुरामा थप सचेत हुनुपर्छ ।’
सडक स्तरोन्नति नहुँदा पर्यटक समयमा गन्तव्यमा पुग्न नसकेको सांसद बरालले बताइन् । ‘नेपालीहरूका लागि चाडपर्वको मौसम भित्रिएको छ । पर्यटकीय क्षेत्रमा आउने पर्यटकहरू ७० प्रतिशतभन्दा बढी पोखरा पहिलो गन्तव्य बनाएर आउँछन् । तर, चार घण्टाको अनुमान गरेर तय गरीएको यात्रा करिब ९/१० घण्टा लाग्ने अवस्था छ । यस्तैखालका सडकका समस्या अन्य धेरै ठाउँमा पनि छन्,’ उनले भनिन् । सडक सञ्जाल सुरक्षित बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् । ‘सहज चाडपर्व मनाउन सडक सञ्जालमा सुरक्षित यात्राको प्रबन्ध सरकारले सबै सडक सञ्जाललाई सुरक्षित बनाउने र यातायातका साधनको प्रयोग गर्दा सचेतता अपनाउन सम्बन्धित सबै सरोकारवाला पक्षलाई निर्देशन दिइयोस् भन्ने विषयमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।