प्रकाश भट्ट, कञ्चनपुर – महेन्द्रनगर बजारको महेन्द्र स्मारक चोकमा उमेरले लगभग ६० वर्ष भन्दा बढी उमेर देखिएकी वृद्ध आमा थरिथरिका खेलौना बेचिरहेकी थिइन् । जुन उमेरमा हाम्रा हजुरबुवा/हजुरआमा जागिरदेखि समेत रिटायर हुने गर्छन् त्यो उमेरमा पनि उहाँ संघर्षरत जीवन बाध्य भएको प्रष्ट देखिन्थ्यो।
सानो स्टयाण्डमा विभिन्न प्रकारका खेलौनाहरू थापी उहाँ प्रत्येक दिन त्यही चोकमा आएर खेलौना बेची आफ्नो गुजारा गरिरहेकी रहेछन्। गर्मी र वर्षा र चिसोले झनै उनको संघर्ष माथि बोझ थपेको थियो। बिना छत वृद्ध उमेरमा यसरी गर्मी र वर्षा र चिसोमा चोकमा दिनभरी उभिएर जिविकोपार्जन गर्न सजिलो थिएन।
उनको संघर्ष देखेर उनीसित बोल्न मन लागिहाल्यो, अनि म लगायत सञ्चारकर्मी साथीहरू उनीसित कुरागर्न भनी उनले खेलौना बेचिरहेको ठाउँमा गयौँ। उहाँको नाम मुन्नी सरोज रहेछ, हामिले उहाँलाई हामीले सोध्यौँ आमा यो उमेरमा पनि यसरी दुख गरिराख्नुभाछ, घरमा अरू छैनन् की? उनले हँसिलो मुहार बनाई भन्नुभयो बाबु एउटा छोरी छ बिहे गरेर गइहाली, एउटा छोरा छ उ परिवारसहित भारतमा बस्छ। यस्तो सुन्ने बितिक्कै उनले गरिरहेको संघर्ष कति धेरै छ भनेर बुझियो।
उहाँसित थप कुरा गर्दै जाँदा थाहा भयो उहाँको जन्म भारतमा भएको रहेछ। सानै उमेरमा बिहे भएको उनको बुढाले भाइको देहान्तपछि भाइबुहारी सित बिहे गरेछन् र उनलाई पीडा दिने थाले। आफ्नै बुढाले भाइबुहारी सित बिहे गरेपछि उनलाई छाडे। त्यसपछि उनी केही समय माइत बसिन, माइतमा पनि छोरी मान्छे धेरै बस्नु नहुने भन्दै कुराहरू आउन थालेछन्। आफ्नै आमाबुवा सित पनि बस्न नमिल्ने भएपछि उनी कामको खोजीमा नेपाल आइन। नेपाल उनसित आउँदा एउटा छोरा र छोरी सँगै थिए।
नेपाल आएपछि बस्न लाउन समेत ठेगान नभएकी उनी खान लाउन लेबरी काम थालिन। विस्तारै उनले नेपाली भाषा सिकिन, आफू र आफ्नो छोराछारी दुईटैको खान लाउन त्यही लेबरी काममा टेकिएको थियो। त्यसपछि उनले खेलौना पसल थापिन र खेलौना बेच्न लागिन। दिनहरू बित्दै गए उनको छोरा छोरीले पनि भारतमै बिहे गरेछन्। अचेल छोरीको त समय समयमा फोन गर्ने तर छोराले भने यती संघर्ष गरेकी आमाको मतलब समेत नगर्ने रहेछ।