काठमाडाैं- सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज छलफल गर्न लागेका छन् । छलफलका लागि सभामुखले आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतकलाई बोलाइएको छ ।
त्यस्तै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका प्रमुख सचेतकलाई पनि बोलाइएको छ ।
सदन खुलाउन सभामुखले गरेको यो छैठौं प्रयास हो। शुक्रबार बिहान साढे ९ बजे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।
गत साउन २ गते त्रिभुवन विमानस्थलअगाडिबाट ६० किलो बढी सुन बरामद भएको प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले न्यायिक जाँचबुझ समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्षी एमालेको यही मागका कारण साउन साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन ।