काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताए ।
तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ ।’
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको मागबारे सोधिएको प्रश्नमा उनले प्रमुख प्रतिपक्षले माग राख्न पाउने बताए । साथै उनले मिटरब्याजसम्बन्धी अध्यादेश पास हुने अवस्थाप्रति प्रमुख प्रतिपक्ष गम्भीर नभएको गुनासो गरे ।