काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि एअर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलको थप उपचार अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेस ‘एम्स’मा हुनेछ।
पौडेलले राष्ट्रपति हुनुअघि पनि उक्त अस्पतालमा आफ्नो उपचार गराएको पोखरेलले जानकारी दिए।
“उहाँको कोखामा समस्या देखिएको छ। नेपाल र भारत दुवैतर्फका चिकित्सकहरूको सुझाव अनुसार उहाँलाई दिल्ली लगिएको हो,” पोखरेलले भने।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्बिरमा उनलाई ह्विलचेअरमा राखेर एअर एम्बुलेन्ससम्म लगिँदै गरेको देखिन्छ। सँगै रहेका एक जना चिकित्सकले मुटुको चाल र अक्सिजनको मात्रा मापन गर्ने उपकरण पनि हातमा बोकिरहेको देखिन्छ।
हात उठाएर पौडेल बिदाइ भएको तस्बिर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ।
श्री एअरलाइन्सको विमानबाट राष्ट्रपतिसँगै उनका चिकित्सक नीरज बम नेतृत्वको टोली पनि बुधवार बिहान नयाँ दिल्ली प्रस्थान गरेको छ।
राष्ट्रपति यसअघि बेहोस भएका विवरण मिडियामा छापिएको पनि पोखरेलले त्यो अस्वीकार गरे।
राष्ट्रपतिको स्वास्थ्य समस्या
राष्ट्रपति पौडेल गत चैत १८ गते पनि “पेटमा समस्या देखिएपछि” महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उपचारमा संलग्न निजी चिकित्सक डा. बमले त्यस बेला राष्ट्रपतिको “बायाँ कोखा र पेटको भाग दुखेको” बीबीसीसँग बताएका थिए।
राष्ट्रपतिलाई सङ्क्रमण भएको आशङ्कामा एन्टिबायोटिक औषधिहरू चलाइएको चिकित्सकहरूले बताएका थिए।
राष्ट्रपति पौडेललाई पुनः समस्या देखिएपछि वैशाख ४ गते अस्पताल लगिएको थियो।
अस्पतालले त्यस बेला बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ निकालेर परीक्षण गरिएको विज्ञप्तिमार्फत् जनाएको थियो।
उनलाई त्यस बेला निमोनियाँभएको चिकित्सकहरूले बताएका थिए।
सामान्यतया निमोनियाको कारण र कस्तो एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पत्ता लगाउन ‘प्ल्युरल फ्लुइड’ भनिने यस्तो तरल पदार्थको परीक्षण गरिने चिकित्सकहरू बताउँछन्।
निमोनियाको उपचार नेपालमै हुने भए पनि एन्टिबायोटिकले प्रभावकारी काम नगरेको भन्ने एम्सका चिकित्सकहरूको सुझावका कारण उनलाई दिल्ली लगिएको उनको सचिवालयको दाबी छ।
विदेशमा उपचारको आलोचना
नेपालका पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल, सुशील कोइराला, गिरिजाप्रसाद कोइराला लगायतले पटक पटक सिङ्गापुर अमेरिका र भारत लगायतका राष्ट्र पुगेका थिए।
त्यसैगरी पूर्व राष्ट्रपतिको पनि विदेशमा उपचार गरिएको थियो।
राष्ट्रपतिलाई एअर एम्बुलेन्स प्रयोग गरेर विदेशमा लगिएको भने यो पहिलो पटक हो।
सबैजसो रोगको नेपालमै उपचार हुने भए पनि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जस्ता उच्च ओहोदामा पुगेपछि राजनीतिक नेताहरूको उपचार राष्ट्रको ढुकुटी प्रयोग गरेर गर्ने गरिएको भनेर चर्को आलोचना हुँदै आएको छ।