‘महिला समानुपातिकमा सुरक्षित हुनेमात्रै होइन, प्रत्यक्ष उम्मेदवार बन्न तयार छन्’ : सांसद शाही

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो ।

सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताउनुभयो । उहाँले आउँदो चुनावमा महिलालाई प्रत्यक्षमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउँछन् । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । धारा १८ ले समानताको हकको व्यवस्था गरेको छ । तर महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण छ । अब महिला समानुपातिकमा बसेर सुरक्षित हुनेमात्रै होइन, प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम छन् ।’

सांसद शाहीले गएको पालिका चुनावमा सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नभएको उल्लेख गर्दै आउँदो सङ्घ र प्रदेश सदस्यको चुनावमा प्रत्यक्षमा महिला उम्मेदवार संविधान बमोजिम सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउने निश्चित रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्