काठमाडौं – नेपालीको प्रमुख रोजगारको गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।
अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान छन् । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।
विश्वव्यापी रूप लिइरहेको कोरनो भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन ।