सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित

म्याग्दी-  पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा) परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए । यसपालि रु ७० हजारको पनि उत्पादन नहुने अवस्था छ”, उहाँले भन्नुभयो, “फल दिने नयाँ बोट थपिए पनि यसपालि गाउँभरि सुन्तला उत्पादन घटेको छ । करिब तीस प्रतिशत दाना झरिसक्यो ।”

गत वर्ष रु एक लाख ५० हजारको सुन्तला बेचेका मालिका गाउँपालिका–७ बिमको लुरबाङका कृष्ण सापकोटाको २०० बोट भएको बगैँचामा झरेको सुन्तला भुइँभरि छ । “झरेको सुन्तला दिनभरि सङ्कलन ग¥यो, फेरि भोलिपल्ट उस्तै हुन्छ”, उहाँले भन्नुभयो, “पाक्ने बेलामा सुन्तला बजार पठाउन नपाउँदै झरेर सकिन थाल्यो ।”

मरेकका थापा र लुरबाङका सापकोटाको मात्र नभएर जिल्लाका अधिकांश बगैँचाका सुन्तला झर्ने समस्या देखिएको छ । सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्या देखिएको बेनी –३ राखुका खिमबहादुर पुनले बताउनुभयो । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्ने समस्या देखिएको कृषकले बताएका छन् । जिल्लाको मुख्य निर्यातयोग्य कृषिउपज सुन्तला हो । सुन्तला खेतीबाट जीविकोपार्जन र आम्दानी गर्दै आएका कृषक चाइनिज सिट्रोस फ्रुट फलाइ (दाना झर्ने) र सिट्रोस ग्रिन कारण चिन्तित भएका छन् ।

चार वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुट फलाई किरा यसपालि यहाँको सुन्तला खेतीमा प्रमुख समस्याका रुपमा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले जानकारी दिनुभयो । “सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुस महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भुइँमा खसाल्छ”, उहाँले भन्नुभयो, “कृषकलाई झरेका दाना व्यवस्थापन गर्न सिकाउने र आगामी वर्ष समस्या आउन नदिन प्रोटिन भेट वितरण गर्ने योजनामा छौँ ।”

भुइँमा खसेको औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाईबस्तुलाई खुवाउने र डेढ फिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने पाण्डेले बताउनुभयो । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो ।

रुख सुक्ने समस्या समाधानका लागि बगैंचा व्यवस्थापन र सुकेका हाँगा काँटछाँट गर्न कृषि प्रसार अधिकृत पाण्डेको सुझाव छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गर्नुभयो । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैंचा छन् ।

सात सय छ हेक्टरमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यहाँको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुन्छ । याम सुरु भएसँगै व्यापारी सम्पर्कमा आएका बास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो । गत असारमा दाना झार्ने औसा मार्ने प्रोटिन भेट ल्याए पनि कृषकले चासो नदिँदा यसपालि पनि समस्या देखिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्