शुक्लाफाँटा–८ का वडाध्यक्ष महराले बैठक भत्ताको रकमबाट खेलकुदका सामग्री खरिद गरे

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।

१३ हजार ४७० रुपैयाँ र अपुग २० हजार रकम व्यक्तिगत रूपमा व्यवस्था गरी खेलकुद सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए । ’ वडाका युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ,’ उनले भने, ’अझै खेलकुदप्रति युवाहरुको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ ।’

युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकम खर्च गर्नुपरेको उनको भनाइ छ । ’जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्,’ उनले भने, ’जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ ।’

नगरपालिकाबाट पाइने सुविधाबापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उनले बताए ।

कान्तिपुरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्