‘नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन’ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका छन् ।

नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने बताए । ‘मांसहारी आन्दोलन भनेर उहाँ (प्रचण्ड)ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ प्रधानमन्त्रीले भने, ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’

नेकपाको सभालाई रोक्नका लागि नेपाल बन्द गरिएको उल्लेख गर्दै उनले सर्वाहाराका नाममा आन्दोलन गर्छु भन्नेहरुले तरकारी बेच्ने व्यवसायी र ट्याक्सी जलाएकोमा आपत्ति प्रकट गरे । उनले बन्दमा भएको गरिबको क्षतिलाई सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएको बताए।सरकार बनेको तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ति गर्न रोकिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘तर एक दुई जना मान्छेले पार्टी छाड्नेवित्तिकै आयोगले पूर्णता पाएको छ,’ उनले भने, ‘आयोग बनेको विरोधमा नेपाल बन्द गरियो ।’ आफूले राजतन्त्र फर्काउने घोषणा गर्ने भन्दै दुस्प्रचार भएको प्रधानमन्त्रीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्