काँग्रेसले बुढिगण्डकी बारे आरोप पुष्टि गर्न चुनौती दिएपछि बाबुरामले भने – निष्पक्ष छानविन गरौँ

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन् ।

पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन् – ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको बताएका थिए ।

उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले देउवामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

भट्टराईको उक्त भाषण सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कांग्रेसले आरोप पुष्टि गर्न चुनौती दिएपछि भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दै ट्वीट गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्