मुकेश प्रसाद जोशी
कञ्चनपुर – ‘सेभ द इन्भाइरन्मेन्ट’ नारा लिएर लायन्स क्लब द्वारा शुक्लाफाँटा नगरपालिकाका सार्वजनिक स्थान र राजमार्ग छेउमा लायन्स क्लवको आयोजनामा १ सय १ बिरुवा रोपिएको छ । शुक्लाफाँटा वडा नं. १० मा रहेको बैजनाथ मन्दिरबाट शुरु भएको वृक्षारोपण कार्यक्रममा २३ प्रजातीका दुर्लभ, बहुमूल्य र शोभायमान बिरुवा रोपिएको हो ।
वृक्षारोपण अन्तर्गत रुद्राक्ष, श्रीखण्ड, सुपारी, अमला, रक्तचन्दन, बेल, कपुर, तराई स्याउ, शमी, अशोक र मलेसियन सालका साथै ११ प्रजातिका विभिन्न फुलका विरुवा समेत रोपिएका छन् । बिरुवा रोप्नु मात्र नभएर आफ्नै सन्तानको जसरी माया मोह दिएर बोटहरूलाई जोगाउन पनि क्लवले विशेष योजना बनाएकोले ९० प्रतिशत बिरुवा बचाउन सफल हुने क्लवका अध्यक्ष खगेन्द्र पाण्डेयले बताए । कार्यक्रममा वडा नं. १० का अध्यक्ष लाल बहादुर ऐर, डिस्ट्रिक सल्लाहकार वसन्त राज पाण्डेय र क्लबका पदाधिकारीको सहभागिता रहेको थियो ।
डिस्ट्रिक ३२५बी२ नेपालको देशभरि ११ हजार १ सय ११ बिरुवा वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ ।