कम्युनिष्ट पार्टीले कुनै अलौकिक र चमत्कारिक नेतृत्वमा विश्वास गर्दैन : माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कुनै ’अलौकिक’ वा ’चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने संस्था रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको सन्दर्भमा बुधबार विज्ञप्ति जारी गर्दै बरिष्ठ नेता नेपालले आफू कमिटी प्रणालीका आधारमा पार्टी चलाउनु पर्छ भन्ने मान्यतामा रहेको उल्लेख गरेका छन् ।

’अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौं,’ उनले भनेका छन्,’आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसकाविरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’

पछिल्लो नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा मनोमानी तरिकाले पार्टी चलाएको भन्दै नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरोध गरिरहेका छन् । प्रचण्ड(नेपाल पक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामासमेत मागेका थिए ।

कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनु हुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने पुष्पलालको दृढतालाई अवलम्बन गरेकै कारण यति विशाल पार्टी निर्माण भएको नेपालले बताएका छन् ।

’दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौं, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रूपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौं, ’ उनले विज्ञप्तिमा भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्