आफ्नै भूमिको कालापानी क्षेत्रसम्म आवतजावत गर्न भारतीय अवरोध

दार्चुला – दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ ।

विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ । कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन् । व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन् ।

स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन । चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ ।

यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पु¥याइएको छ । व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ । ’बिना हतियार त्यहाँसम्म जान दिन आग्रह ग¥यौँ’ ती सुरक्षाकर्मीले भने, ’तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके ।’

नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ ।

पहिलो घेरामा एसएसबी तैनाथ छन् । सशस्त्र प्रहरी गस्ती टोलीको नेतृत्व प्रहरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो । माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताए । सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् ।

गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । तर कुटी देखिँदैन । पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन । खातीले भने, ’नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध गरेको देख्दा नरमाइलो लाग्छ।’ रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्