काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको चौथो बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देश गरेका हुन् । पछिल्लो केही दिनयता परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोले स्थानीय नागरिकहरू समस्यामा परेकोभन्दै प्रधानमन्त्री ओलीले राहत सामग्रीमा कुनै कमजोरी नगर्न निर्देश गरेको परिषदका सदस्यसचिव तथा गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
“उद्धारका सामग्रीहरू सदरमुकाम या जिल्लामा थुप्रिने काम नहोस्, जहाँ समस्या छ त्यहीँ स्थानीय ठाउँमा सामग्री तत्काल पुगोस्” प्रधानमन्त्री ओलीले बैठकमा भने, “उद्धार तथा पुनर्स्थापनाको काममा कुनै किसिमको कमजोरी नहोस्, परिणाम देखिनेगरी काम होस् ।” उद्धार तथा पुनर्स्थापनाका लागि सरकारको तर्फबाट आर्थिकरुपले कुनै कमजोरी हुन नदिइने पनि प्रधानमन्त्रीले बैठकमा प्रतिबद्धता जनाएको सदस्यसचिव पोखरेलले बताए ।