आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् ।
वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जन जति घर पहिरोकै जोखिममा रहेको बताए । उनले पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु गरेकाे भने ।
भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय पाण्डव श्रेष्ठले बताए । पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, उनले भने, अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ
र ? भएको थातथलोलाई एकै पटक छोडेर हिँड्ने अवस्था छैन । सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाई दिनुपर्ने उहाँको तर्क छ ।
मरिण गाउँपालिकास्थित कात्तिके खलङ्गामा झन्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाँजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ ।
मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन वर्षात्को मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले सम्भाव्यता अध्ययन नै नगरी जथाभावी खनिएका ट्र्याक सडक र वैज्ञानिक वनका नाममा भएको वन विनाशले पहिरोको जोखिम बढाएको छ बताए । उनका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फँडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्तअनुसार ८० वर्ष पूरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायीको मिलेमतोमा जथाभावी नै वन विनाश भएको छ ।
महाभारत उत्तरतर्फका दर्जनभन्दा बढी ठाउँ पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, बस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुड्भञ्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाउँ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ । समन्वय समितिका प्रमुख शङ्करराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भू–भाग बढी भएको जिल्ला भएकोले हरेक वर्ष वर्षात्को मौसममा पहिरोको त्रास हुने गरेको बताए । उनले जेसीभी र स्काभेटरमार्फत ट्र्याक सडक खनिएकाले पहिरोको जोखिम बढेको हो भने ।
घ्याङलेख गयो पहिरोले नै सडक अवरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अवरुद्ध छ, जताततै समस्या छ । कमलामाई नगरपालिकाको पनि ढुङ्ग्रेभञ्ज्याङ र केवरेको पहिरोका कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ती रहेकाले खतरा भएको हो । ठूलो पानी पर्नासाथ डराउनुपर्ने अवस्था छ, ढुङग्रेबास बजार निवासी सन्तोष दाहालले भने, ती पहिरो पुनः खसेर ठूलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाई बेलैमा सार्नुपर्छ ।
गाेरखापत्र