काँग्रेस बैठक : देउवा र निधिबीच चर्काचर्की, नागरिकता विधेयक फिर्ता हुनेपर्ने निष्कर्ष

मंगलबारको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीभित्रको मत मतान्तरका बीच नागरिकता विधेयकको विपक्षमा उभिने ‘संस्थागत’ निर्णय भइसकेको छ ।
मंगलबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विमलेन्द्र निधिको दबाब र प्रभावमा नागरिकता विधेयक फिर्ता हुनेपर्ने निष्कर्षमा पुगेको पाइएको छ ।
बैठकमा उसभापति निधिलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले बलियो साथ दिएपछि नागरिता विधेयकमा काँग्रेस पूर्ववत अडानबाट माथि उठ्न सकेन ।
नेपालीसँग बिहे गरेर आएका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनेसम्बन्धी प्रावधान संवैधानिक व्यवस्थाविपरित रहेको बैठकले ठहर गर्यो ।
राज्य व्यवस्था समितिमा काँग्रेसका सांसदले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा फरक मत राखेका थिए ।
बैठकले उक्त प्रावधानले सामाजिक र पारिवारिक जटिलता समेत सिर्जना गर्ने सम्भावना रहेको ठहर पनि गरेको छ । बैठकले पार्टी निर्णयअनुसार संसदमा प्रस्तुत हुन काँग्रेस संघीय संसदीय दललाई निर्देशन समेत दिएको छ ।
यतिसम्म कि सभापति शेरबहादुर देउवाले समेत आफूले प्रकट गरेको मतमा समेत अडान लिन सकेनन् ।
बैठक जारी रहेकै बेला देउवा र निधिबीच देउवाको कार्यकक्षमा चर्काचर्की नै भयो । त्यसपछि नागरिकता विधेयकबारे आजको बैठकबाट निर्णय नभए ‘बैठक छोडेर जान्छु’ भन्दै निधिले घुर्की समेत लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्