माथिल्लो तामाकोशीको भौतिक प्रगति ९९.५ प्रतिशतको हाराहारीमा

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । लकडाउनकैबीच अधिकाँस समय काम भएकाले काम सकिने चरणमा पुगेको छ ।

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२.५ मिटर मात्रै बाँकी छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ ।

पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रबारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।

सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।

४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव पाँच प्रतिशतको हाराहारीमा पुगेको छ । सरकारले आगामी आवको पहिलो चौमासमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्