वार्ता भएको २ दिनपछि भारतीय सीमामा चिनियाँ सैन्य हेलिकप्टर

काठमाडौँ – पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच जारी तनाव कम गर्नका लागि कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी रहेको छ । तर, दुई देशका सैन्य अधिकारीबीच छलफल भएको दुई दिनपछि नै सोमबार सीमा क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ हेलिकप्टर देखिएको हो ।

गत शनिबार मात्र दुई देशका सैन्य अधिकारीबीच तनाव कम गर्नका लागि छलफल भएको थियो । भारतले वार्ता सकारात्मक भएको बताएको थियो ।

समाचार एजेन्सी एएनआईले स्रोतको हवाला दिँदै पछिल्लो ७–८ दिनमा चिनियाँ जनमुक्ति सेना (पीएलए) को वायुसेनाको गतिविधि बढेको जनाएको छ । सीमा क्षेत्रमा चिनियाँ सैन्य हेलिकप्टर नियमितरुपमा देखिन थालिएको छ । स्रोतका अनुसार सीमामा तैनाथ सैनिकको सहयोगका लागि यी हेलिकप्टरहरुले गतिवधि बढाएका हुन् । पूर्वी लद्दाखमा दुई सेनाबीच तनावको स्थितिका बीच चिनियाँ सैन्य हेलिकप्टर कयौँ पटक भारतीय क्षेत्रमा पनि देखिएको भारतीय मिडियाको दाबी छ । गलवान घाटीमा भारतीय निर्माण क्षेत्रमा चिनियाँ हेलिकप्टर देखिएको बताइएको छ ।

सीमामा चिनियाँ हेलिकप्टरको गतिविधि बढेसँगै भारतले पनि आफ्नो युद्धक विमान सीमा क्षेत्रमा पठाएको समाचारमा उल्लेख गरिएको छ ।

भारतसँगको सीमा विवादबीच चीनको शक्ति प्रदर्शन

भारतसँग पूर्वी लद्दाखमा जारी तनावका बीच चीनको सरकारी मिडिया भारतमाथि दबाब बनाउने प्रयास गरिरहेको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको युद्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतियार एकीकृत गर्न सक्छ भन्ने देखाइएको छ ।

ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेना (पीएलए) ले उत्तर–पश्चिमको उच्च क्षेत्रमा ठूलो संख्यामा युद्ध अभ्यास गरेको छ । यसमा हजारौँ प्याराट्रुपर्स र बख्तरबन्द गाडीले भाग लिएका छन् ।

ग्लोबल टाइम्सको रिपोर्टमा चीनले आवश्यकता परेमा आफ्नो सीमा सुरक्षालाई कति चाँडो मजबुत बनाउन सक्छ भन्ने देखाउने प्रयास गरिएको छ । शनिबार सीसीटीभीले पनि पीएलएको एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौँ किलोमिटर टाढा उत्तर पश्चिममा एक अज्ञात स्थानमा युद्ध अभ्यास गरेको बताएको छ ।

यता भारतीय रक्षा विश्लेषक नितिन गोख भन्छन्, ‘चीन एक धारणा बनाउने कोशिस गर्दैछ कि उसको सेना उच्च क्षेत्रमा पनि युद्धका लागि तयार छ ।’

यसअघि शनिबार पूर्वी लद्दाखमा देखिएको तनाव हल गर्न दुई देशका सैन्य अधिकारीहरुको बैठक बसेको थियो । आइतबार भारतको विदेश मन्त्रालयले बैठकबारे जानकारी दिँदै दुवै देश शान्तिपूर्ण तरिकाबाट विवाद समाधान गर्न तयार रहेको बताएका थिए ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल रहेको छ । यसमा दुई देशबीच विवाद रहेको छ । सीमा विवादकै विषयमा भारत र चीनका सैनिकबीच मे महिनामा तीन पटक झडप भइसकेको छ ।

स्रोतः दैनिक भास्कर बाट रातोपाटीले अनुवाद गरेको   

फाइल तस्विर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्