कांग्रेसको आधिकारिकता गगन पक्षले पाएपछि देउवा पक्षमाथि दबाब, समानान्तर महाधिवेशन गर्ने अडान कायमै

काठमाडौं – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षमाथि कानुनी तथा राजनीतिक दबाब बढेको छ। आयोगको निर्णयपछि देउवा पक्षले घोषणा गरेको समानान्तर महाधिवेशनको वैधानिकतामाथि समेत प्रश्न उठेको छ। निर्वाचन आयोगले गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मंगलबार अभिलेखमा अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नयाँ कार्यसमितिको विवरण विधिवत् रूपमा अद्यावधिक भएको पुष्टि गर्नुभएको छ।

आयोगको निर्णयसँगै गगन थापा नेतृत्वको कार्यसमितिले पार्टीको आधिकारिक नेतृत्वको मान्यता पाएको छ। तर, यस निर्णयले कांग्रेसभित्र लामो समयदेखि जारी विवाद तत्काल समाधान हुने संकेत भने देखिएको छैन। पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार गरेका छैनन्। यही विवादका बीच देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ।

महाधिवेशनको तयारीस्वरूप हालसम्म ५९ जिल्ला र दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको नेता डा. प्रकाशशरण महतले बताउनुभएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेपछि भने देउवा पक्षले नेपाली कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न पाउने वा नपाउने भन्ने विषय थप पेचिलो बनेको छ।

महाधिवेशन गर्ने अडानमा देउवा पक्ष

निर्वाचन आयोगको निर्णय सार्वजनिक भए पनि देउवा पक्ष पूर्वनिर्धारित कार्यक्रमअनुसार नै महाधिवेशन गर्ने अडानमा देखिएको छ। कांग्रेस नेता एनपी साउदले आयोगको अद्यावधिक निर्णयले आफूहरूको महाधिवेशनलाई असर नगर्ने दाबी गर्नुभएको छ। उहाँले आफ्नो समूहले पनि महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नाम नेपाली कांग्रेस नै रहने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘हाम्रो महाधिवेशन भइसकेको छैन। हामीले पनि महाधिवेशन सम्पन्न गरेर जान्छौँ। पार्टीको यही नाम (नेपाली कांग्रेस) मा नै महाधिवेशन हुन्छ।’

त्यस्तै, नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई प्रशासनिक प्रक्रिया मात्र भएको टिप्पणी गर्नुभएको छ। पार्टीको वैधानिकतासम्बन्धी विवादको अन्तिम टुंगो अदालतबाट लाग्ने उहाँको भनाइ छ। ‘अद्यावधिक भनेको दर्ता गरेको मात्र हो। यसको अन्तिम टुंगो अदालतले लगाउला,’ महतले भन्नुभएको छ, ‘हामी मंसिर २१ गतेको महाधिवेशनको तयारीमा पूर्ण रूपमा जुटिसकेका छौँ। महाधिवेशन खुलामञ्चमै हुन्छ।’ देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म आफ्नो राजनीतिक गतिविधि जारी राख्ने बताएका छन्।

समानान्तर महाधिवेशन रोक्ने तयारीमा संस्थापन पक्ष

यता निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि गगन थापा नेतृत्वको संस्थापन पक्षले पार्टीको नाम, झण्डा र पहिचान प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गर्न नदिने रणनीति बनाएको छ। संस्थापन पक्षको बुझाइमा आधिकारिक केन्द्रीय कार्यसमिति कायम भइसकेपछि अर्को समूहले नेपाली कांग्रेसकै नाममा महाधिवेशन गर्नु कानुनी रूपमा उचित हुँदैन। कांग्रेस सहमहामन्त्री प्रतिमा गौतमले देउवा पक्षको प्रस्तावित महाधिवेशन रोक्न सम्बन्धित निकायमा जाने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘अर्को समूहको महाधिवेशन रोक्न हामी सम्बन्धित निकायमा जान्छौँ। यसभन्दा बढी पार्टीले छलफल गरेर आधिकारिक निर्णय लिनेछ।’

निर्वाचन आयोगको पछिल्लो निर्णयपछि कांग्रेसभित्रको विवाद अब संगठनात्मक प्रतिस्पर्धासँगै कानुनी संघर्षतर्फ अघि बढ्ने देखिएको छ। देउवा पक्ष पूर्वघोषित महाधिवेशन गर्ने अडानमा छ भने संस्थापन पक्ष त्यसलाई रोक्न कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

यसले मंसिर २१ देखि २३ गतेसम्म तय गरिएको समानान्तर महाधिवेशनको भविष्य, पार्टीको आधिकारिक नाम, झण्डा तथा चुनाव चिह्नको प्रयोगसम्बन्धी विवादलाई थप जटिल बनाउने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्