एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने, लगातार दोस्रो पटक फाइनलमा भेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ। यससँगै लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा उपाधिका लागि आमनेसामने हुने भएका छन्। गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो।

तेस्रो संस्करणको लिग चरणमा पनि लुम्बिनी र सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेका थिए। लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो। लिग चरणको प्रदर्शनका आधारमा दुवै टोलीले उपाधि दाबेदारी प्रस्तुत गरेका थिए।

पहिलो क्वालिफायरमा पनि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा लुम्बिनीले एकपक्षीय जित निकाल्दै सिधै फाइनलमा स्थान बनाएको थियो। पराजित भएपछि दोस्रो अवसर पाएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।

यस सिजन अहिलेसम्म लुम्बिनी र सुदूरपश्चिमबीच दुई खेल भएका छन्। दुवै खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। अब फाइनलमा हुने प्रतिस्पर्धा यी दुई टोलीबीच जारी सिजनको तेस्रो भेट हुनेछ। त्यसैले सुदूरपश्चिमका लागि अघिल्ला दुई हारको बदला लिँदै पहिलो पटक एनपीएल उपाधि जित्ने अवसर हुनेछ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।

सुदूरपश्चिम पहिलो संस्करणमा पनि फाइनल पुगेको थियो। तर, त्यसबेला जनकपुर बोल्ट्ससँग पराजित भएपछि उपविजेतामै सीमित भएको थियो। दोस्रो संस्करणमा लुम्बिनीसँग उपाधि गुमाएको सुदूरपश्चिम यस पटक भने उपाधि जित्ने योजनामा छ।

लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम र साविक विजेता लुम्बिनीबीचको भिडन्तले एनपीएलको तेस्रो संस्करणलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा मैदान उत्रनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्