काठमाडौँ – नेपाली कांग्रेसले पार्टी विधान संशोधन गर्दै दुई अवस्थामा पार्टीका नेता तथा कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाइएको १५औँ महाधिवेशनबाट संशोधित विधानमा पार्टीका सबै तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः निलम्बनमा पर्ने प्रावधान थप गरिएको हो ।
संशोधित विधानको धारा ५० को उपधारा (९) पछि नयाँ उपधारा (१०) थप गर्दै यस्तो व्यवस्था गरिएको छ । जसअनुसार कुनै पनि तहका कार्यसमितिका पदाधिकारी तथा सदस्य फौजदारी कसुरको अभियोगमा थुनामा रहेको अवधिभर स्वतः निलम्बनमा पर्नेछन् । त्यस्तै, कुनै पनि तहको अदालतबाट कैद सजाय हुने ठहरसहित फैसला भएको अवस्थामा पनि सम्बन्धित पदाधिकारी वा सदस्य स्वतः निलम्बनमा पर्ने व्यवस्था गरिएको छ ।
तर, निलम्बनमा परेको व्यक्तिले अन्तिम अदालतबाट सफाइ पाएमा भने निलम्बन स्वतः फुकुवा हुने व्यवस्था पनि विधानमा समेटिएको छ । संशोधित उपधाराको प्रतिबन्धात्मक वाक्यांशमा ‘अन्तिम अदालतबाट सफाइ पाएको अवस्थामा निजको निलम्बन स्वतः फुकुवा हुनेछ’ उल्लेख गरिएको छ । कांग्रेसको यसअघिको विधानको धारा ५० मा यस्तो व्यवस्था थिएन । फौजदारी कसुरको अभियोग लागेका पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यलाई निलम्बन गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक ठानेर नयाँ प्रावधान थप गरिएको संशोधनको कारणमा उल्लेख छ ।
यस व्यवस्थासँगै अब फौजदारी कसुरको अभियोगमा थुनामा रहेका वा अदालतबाट कैद सजाय हुने फैसला भएका कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्य पार्टी विधानअनुसार स्वतः निलम्बनमा पर्नेछन् ।





