काठमाडौँ – नेकपा एमाले मङ्सिर १ देखि ५ गतेसम्म लगातार पार्टीका बैठक तथा विभिन्न तहका भेला आयोजना गरेर राजनीतिक र सङ्गठनात्मक गतिविधिमा सक्रिय हुने भएको छ ।
एमालेले मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको छ भने २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । त्यस्तै, मङ्सिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको भेला र ५ गते चौथो केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय गरेको छ ।
एमालेका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्यदेखि पालिका तहका कमिटीका प्रतिनिधि तथा विभिन्न तहका जनप्रतिनिधिसमेत गरी ३ हजार ४१४ जनाको सहभागिता रहनेछ । राष्ट्रिय भेला काठमाडौँको कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ भने स्थायी कमिटी, स्थानीय तहका प्रतिनिधि र केन्द्रीय कमिटीका बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।
गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ वटा कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य एजेन्डा बनाइएको छ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक एवं वैचारिक मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्ने कार्यक्रम छ ।
महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
एमालेले सोमबार पत्रकार सम्मेलनमार्फत पाँच दिनसम्म सञ्चालन हुने बैठक तथा भेलाको कार्यतालिका र उद्देश्यबारे जानकारी गराएको हो ।






