जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त नहुने अवस्था देखिएपछि मुख्यमन्त्री यादवले सदनमै राजीनामा घोषणा गरेका हुन्। उनले पदभन्दा ठूलो जनताको सेवा र विश्वास रहेको उल्लेख गर्दै पद त्याग गरेको बताएका छन्।
सत्ता साझेदार नेकपा (एमाले) ले असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवमाथि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिष्ट पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो। दुवै दलले समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो।
१०२ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
यसअघि कात्तिक २० गते जनता समाजवादी पार्टी नेपाल, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने विषयमा सहमति भएको दाबी एमालेले गरेको थियो। जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीस्वरूप नेपाली कम्युनिष्ट पार्टी पनि सरकारबाट बाहिरिएको थियो।
तर, जसपा नेपालभित्रै मुख्यमन्त्री बन्ने विषयमा आन्तरिक मतभेद देखिएपछि नयाँ सत्ता समीकरणले पूर्णता पाउन सकेको छैन। एमाले र नेपाली कम्युनिष्ट पार्टी भने जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न लचक देखिएका छन्।
यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन्। यसले मधेस प्रदेशमा नयाँ सरकार गठनको समीकरण थप पेचिलो बनेको छ।
मुख्यमन्त्री यादवको राजीनामासँगै अब प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।





