काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो ।
यो जितसँगै सुदूरपश्चिमले ६ खेलबाट चार जित निकाल्दै ८ अङ्क जोडेको छ । अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । समान ८ अङ्क रहेको शीर्ष स्थानको काठमाडौं गोर्खाजभन्दा सुदूरपश्चिम नेट रनरेटमा पछि छ ।
यता जनकपुरको भने प्लेअफ यात्रा कठिन बनेको छ । ६ खेलमा चौथो हार व्यहोरेको जनकपुर ४ अङ्कसहित पाँचौँ स्थानमा छ ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाए । जिमी निसमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
जनकपुरको इनिङ्समा जिमी निसम र ललित राजवंशीबीच नवौँ विकेटका लागि भएको २० रनको साझेदारी सबैभन्दा ठूलो रह्यो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक तीन विकेट लिए । हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए भने आरिफ शेखले ११ तथा सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।
जनकपुरका कप्तान हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले एक–एक विकेट लिए । एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी टेक्टरले चार ओभरमा मात्र नौ रन खर्चिए ।
सुदूरपश्चिमले अब लिग चरणको अन्तिम खेल काठमाडौं गोर्खाजसँग खेल्नेछ भने जनकपुरले चितवन राइनोजको सामना गर्नेछ ।




