काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले हाम्रा मौलिक चाडपर्वले सामाजिक एकता, सद्भाव र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ ।
नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेवार समुदायको मौलिक परम्पराले आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभएको छ । यस्ता सांस्कृतिक परम्परा नेपालको साझा गौरव भएको उहाँको भनाइ छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका नागरिकलाई ऋणमुक्त गराएर सुरु गराउनुभएको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल संवत् नेपालको मौलिक संवत् र सांस्कृतिक पहिचान भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत्ले नेपाली समाजको सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभएको छ ।
नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता मौलिक परम्पराले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँको विश्वास छ ।
नेपाल संवत् र म्हः पूजाले नेपालको मौलिक संस्कृति, परम्परा तथा पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।




