चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
मुग्लिन नजिकै गए राति ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक आज बिहान करिब पौने ८ बजेबाट दुईतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोका कारण रातिदेखि नै रोकिएका सवारीसाधन तथा यात्रु सडक खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार घोप्टेभीरमा पहिरो खस्ने जोखिम भने अझै कायमै छ । उक्त स्थानमा केही दिनयता निरन्तर सुक्खा पहिरो खसिरहेको छ ।
यसअघि आइतबार र सोमबार पनि सोही स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । सोमबार पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि राति पुनः पहिरो खसेपछि यातायात ठप्प भएको थियो ।
घोप्टेभीरमा पटक–पटक पहिरो खस्दा मुग्लिन हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित हुँदै आएका छन् ।
सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम पूर्ण रूपमा नहटेकाले उक्त खण्ड भएर यात्रा गर्दा सतर्कता अपनाउन ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।





